नियम २०
मतदान केन्द्र तोक्ने
(१) आयोगले ऐनको दफा ३४ को उपदफा (१) बमोजिम मतदान केन्द्र तोक्दा मतदाताको सङ्ख्या, सुविधा तथा सुरक्षाको अवस्थालाई समेत ध्यान दिई सकभर मतदातालाई पायक पर्ने गरी सार्वजनिक स्थानमा तोक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदान केन्द्र तोक्दा एउटा गाउँपालिका वा नगरपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा मतदान केन्द्र पर्ने गरी तोक्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम तोकिएको मतदान केन्द्रको सूची आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मतदान केन्द्रको सूची प्रकाशन गर्दा कुन कुन गाउँ वा टोलका मतदाताहरूले कुन मतदान केन्द्रमा मतदान गर्न पाउने हो सो कुरा समेत स्पष्ट उल्लेख गर्नु पर्नेछ ।
(५) कुनै मतदान केन्द्रमा मतदान गर्ने मतदाताको सङ्ख्या आयोगले तोकेको सङ्ख्या भन्दा बढी हुने भएमा वा अन्य कुनै विशेष परिस्थिति सिर्जना भएको कारणबाट अन्य छुट्टै मतदान केन्द्र तोक्नुपर्ने भएमा आयोगको स्वीकृति लिई निर्वाचन अधिकृतले छुट्टै मतदान केन्द्र तोक्न सक्नेछ ।
(६) सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनु पर्ने अन्य आधारहरू आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।